बिर्तामोड ।

 बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित नमुना टोलमा निर्माण भएको भवनको बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् ।  

वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कर्मचारी मेघराज वाँस्तोला, पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल लगायतको उपस्थितिमा भवनको उद्घाटन भएको हो ।

महेन्द्ररत्न उच्च माध्यमिक विद्यालयको २ कठ्ठा जग्गामा शाखाको ५ कोठे भवन निर्माण गरिएको हो । भवन एक करोड रुपैयाँको अनुदान लागतमा नेपाल लाइभ स्टक इनोभेसन प्रोजेक्टले निर्माण गरिदिएको शाखा प्रुमख सावित्रा दाहालले जानकारी दिइन् । पशुपंछी तथा मत्स्य विकास शाखाले आजदेखि नै आफ्नो सेवा नयाँ भवनको कार्यालयबाट सुरु गरेको पशु प्राविधिक विष्णु भट्टराईले जानकारी दिए ।