झापा ।

भारतले आज ७३ औं गणतन्त्र दिवसको अवसरमा  पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरेको छ । यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १ सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिने केन्द्रीय गृह मन्त्रालयले विवरण सार्वजनिक गरेको जनाएको हो । 

पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मान हो । यसपटक पद्म विभूषण पाउनेहरुमा गत डिसेम्बर महिनामा हेलिकप्टर दुर्घटनामा निधन भएका सैनिक जनरल विपिन रावत, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् । यीमध्ये प्रभा यात्रेबाहेक अन्य तीनजनालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।

पद्म भूषण पाउने १७ जनामा यसपटक कोरोना भाइरसविरुद्धको खोप बनाउने सीरम इन्सटीच्युटका साइरस पुनावाला र भारत बायोटेकका संस्थापक अध्यक्ष कृष्णा एल्ला र उनकी पत्नी सुचिता एल्ला लगायत छन् । भारतले विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई समेटेर तीनिहरुले देश र समाजका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न लागेको हो । 

वृटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकारसम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो । सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउँदै आएको छ । पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मान हो ।