बिर्तामोड ।
संवाद समूह झापाका सदस्यहरुको लागि पुनर्ताजगी कार्यशाला शनिवार बिर्तामोडमा सम्पन्न भएको छ । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सामाजिक संस्थाबाट कार्यशालामा २५ जनाको सहभागिता रहेको थियो । जिल्लामा उत्पन्न हुने द्वन्द्व रुपान्तरण, नीति निर्माण तथा समसामयिक सवालमा संवादको माध्यमबाट निकास निकालेर शान्ति स्थापनामा संवाद समूहले विगतदेखि निर्वाह गर्दै आएको भूमिकाको राजनीतिक दलका नेताहरुले चर्चा गरेका छन् । उनीहरुले जिल्लामा दलहरुबीचको सहकार्य समन्वय उदाहरणीय भएको भन्दै त्यस कार्यका लागि संवाद समूहले निर्वाह गरिरहेको संयोजनकारी भूमिकाको प्रशंसा गरे । समाजमा शान्ति, स्थिरता र दिगो विकासका लागि संवाद अपरिहार्य भएको सहभागिताले बताएका थिए ।
झापा उच्च राजनीतिक संस्कार भएको जिल्ला भएको हुनाले यहाँको समस्यामा सबै दल एकै ठाउँमा बसेर संवादका माध्यमबाट समाधान निकाल्ने परिपार्टीको विकास भएको उनीहरुले बताएका छन् । कार्यशालामा संवाद, यसको प्रक्रिया र सिप, बार्ता–छलफल–मध्यस्थता र संवादबीचको अन्तर लगायतका विषयमा सहभागितामुलक छलफल भएको थियो ।
छलफलमा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा एमाले झापाका सचिव शिव ढुँगेल, नेकपा माओवादी केन्द्रकी प्रदेश सदस्य निरु खतिवडा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य निलमणि बराल, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वजिल्ला अध्यक्ष पर्शुराम मगरले संवादको प्रभावकारिता लगायतका विषयमा आफ्नो अनुभव आदान–प्रदान गरेका थिए ।
त्यस्तै फोनिजका प्रदेश १ इञ्चार्ज दिपीन राई, अन्तरपार्टी महिला सञ्जालकी द्रौपदी गणेश, आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष पाण्डवलाल चौधरी, एमालेका युवा नेता नवीन ढुंगाना, कोचिला महिला नेतृ सनम राजवंशी, सरु राजवंशी, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, अपाङ्ग स्वावलम्बन समितिका सचिव पदम अधिकारी, महिला अधिकारकर्मी शिखा खड्का गणेश लगायतले समेत संवादको अनुभव र अपेक्षा सुनाएका थिए । नेपाल पुनस्र्थापकीय न्याय मञ्चका संस्थापक अध्यक्ष राम तिवारीले सहजीकरण गरेको कार्यशालामा मञ्चका कार्यक्रम संयोजक प्रवेशराज जोशीले समेत सहायक सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
सहजकर्ता तिवारी संवाद र पुनस्र्थापकीय न्यायका क्षेत्रमा १६ बर्षदेखि कार्यरत छन् । उनले संयुक्त राष्ट्र संघको विशेषज्ञ समितिमा रहेर दुई बर्ष र अमेरिकाको कानून मन्त्रालयको विज्ञको रुपमा तीन बर्ष काम गरेका छन् भने अमेरिका, रुगान्डा, सोमालियाका विश्वविद्यालयमा अध्यापनको अनुभव समेत हासिल गरेका छन् । कानून, मनोविज्ञान र द्वन्द्व विज्ञान विषय अध्ययन गरेका तिवारी इन्टरनेशनल कमिशन अफ जुरिस्टको दक्षिण एशिया प्रमुख हुन् । हाल उनी नेपाल ल क्याम्पसमा अध्यापन गर्छन् । कार्यशालाका लागि सहारा नेपाल र द एशिया फाउण्डेशनले सहयोग गरेका थिए ।