- उद्धव पुरी
झापा ।
घर निर्माण गरिदिने भएपछि धेरै खुसी भएकी अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित विहीवारे बजारकी अतिविपन्न देवीमाया खतिवडाको खुसी अहिले दुःखमा परिणत भएको छ ।
‘गरिबलाई दिन्छु नभन्नु रे, ....लाई लान्छु नभन्नु रे’ भन्ने एउटा पुरानो भनाई छ अहिले अति विपन्न एकल महिला खतिवडाको अवस्था त्यस्तै भएको छ । खतिवडाको घर बन्न त टाढाको कुरा भयो तर, हरियालीले झारेको सामाग्री समेत अहिले आधा भइसकेको छ । बजारको क्षेत्रमा २०७८ बैशाखमा घर निर्माण गर्न भनेर झारेको उक्त सामाग्री एउटा/दुइटा गर्दै गर्दै हराउने गरेकाले अहिले आधा हुने अवस्थामा पुगेको छ ।
अति विपन्न परिवारकी खतिवडाको घर निर्माण गरिदिने भन्दै दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको उप–समिति हरियाली महिला समुहले गत बैशाखमा झारेको ढुङ्गा, गिटी र बालुवा अहिलेसम्म बेवारिसे अवस्था रहेको छ । दुई ट्याक्टर ढुङ्गा, एक ट्याक्टर गिटी र एक ट्याक्टर बालुवा झारेर घरको नापजाँच गरेर गएको मान्छे अहिलेसम्म आएका छैनन् ।
‘बिद्यालयको जग्गा भएकाले घर निर्माण गर्न नमिल्ने भन्ने गरेका छन्’ खतिवडाले भनिन् ‘मेरो जग्गा जमिन छैन, २०/२५ बर्षदेखि यहीँ बसिराखेको छु ।’ उनले थपिन् ‘ घर भत्काउनु हामी दुईतिन दिनमा आएर निर्माण गरिदिन्छौ भनेका थिए तर, अहिलेसम्म आएका छैनन् ।’ वैशाखमा झारेको ढुङ्गा, गिटी, बालुवा आधा भइसक्यो तर, अहिलेसम्म खतिवडाको घर निर्माणमा कसैले चासो नदेखाएको उनको गुनासो छ । आमा र छोरा मात्र बस्दै आएको उनीहरुको घरको सवै टिन दुलो परेर पानी पर्दा घरभरी नै जम्ने गरेको छ । छोरो असक्ष भएकै कारण घर निर्माण गर्न नसकेपछि हरियाली महिला समुहले घर निर्माण गरिदिने भनेर सामाग्री झारिदिएको थियो । तर, पनि अहिलेसम्म विभिन्न बहाना बनाएर घर निर्माण हुन नसकेको स्थानीयहरु बताउछन् ।
उपभोक्ता समुहका अध्यक्ष महेन्द्र अधिकारीले पूर्व अध्यक्षहरुको निर्णय भएकाले आफुलाई त्यस बिषयमा खासै जानकारी नभएको बताए । बिद्यालयको जग्गा भएकाले समस्या भएको हुन सक्ने उनको भनाई छ ।
उपभोक्ता समुह टोल नं. २ का अध्यक्ष डम्वर थापाले आफु अध्यक्ष हुनु भन्दा अघि नै घर निर्माण गर्ने निर्णय भएको बताए । उनले सवैलाई थाहा नै भएको हो उनको घर बिद्यालयको जग्गामा भएको भन्ने त्यती हुँदा हुँदै पनि सामाग्री झारिसकेपछि एउटा विपन्नको घर निर्माण हुनुपर्ने बताए ।
समुहका पूर्व टोल नं. २ का अध्यक्ष सूर्य रिमालले बर्षौदेखि बिद्यालयकै जग्गामा बस्दै आएको मान्छेलाई वहाना बनाएर मर्कामा पार्न नहुने बताए । ‘बजार व्यवस्थापन समितिले पुरानो बसोबास भएको मान्छेलाई सिफारिस गरिदिदा हुने हो’ रिमालले भने ‘तर, जुँगाको लडाईले गर्दा घर निर्माण रोकिएको छ ।’
टोल नं. २ का पूर्व अध्यक्ष अर्जुनकुमार रेग्मीले आफ्नो कार्यकालमा खतिवडाको घर निर्माणका लागि समुहका ५ नं. क्षेत्रिय संयोजक कमल गिरीसँग छलफल गरेर तत्काििलन बन समुहका अध्यक्ष खगेन्द्र सुब्बाको सिफारिसमा क्षेत्र नं. ४ र ५ को घर २०७८ मा निर्माण गर्ने कुरा भएको बताए । क्षेत्र ४ र ५ को घर निर्माण गर्ने ठेकेदार एउटै भएकाले ४ को सकेर ५ नं. यानिकी देवीमायाको घर निर्माण गरिने निर्णय भएको बताए । एउटा विपन्नलाई आश देखाएर बिभिन्न बहाना बनाएर घर निर्माण रोक्न नहुने रेग्मीको भनाई छ ।
यता बिहीवारे बजार व्यवस्थापन समितिका अध्यक्ष छबिलाल लम्सालले बिद्यालयको जग्गा भएकाले समितिले भन्दा पनि बिद्यालयले घर निर्माणको लागि अनुमति दिनु पर्ने बताए । उनले बजार समितिले घर निर्माणमा रोक नलगाएको समेत बताएका छन् ।
उपभोक्ता समुह मातहतको उपसमिति हरियाली महिला समुहले बनका ५ वटा क्षेत्रका एक/एक विपन्न परिवारको घर निर्माण गर्न गत २०७७ सालमा कार्यक्रम अघि सारेको थियो ।
त्यस अनुरुप गत २०७७ सालमा ३ बटा क्षेत्रका विपन्न परिवारको घर निर्माण भइसकेको छ भने कोरोना महामारीका कारण क्षेत्र नं. ४ को पनि २०७८ मा निर्माण भइसकेको छ । तर क्षेत्र नं. ५ को देबीमायाको घर निर्माण भने विभिन्न समस्या देखाएर अहिलेसम्म घर निर्माण हुन सकेको छैन । सवैको कुरा सुन्दा देवीमायाको घर निर्माण हुनुपर्छ भन्ने देखिएपनि अहिलेसम्म घर निर्माण हुन भने सकेको छैन ।
भिडियो पनि


















