भद्रपुर । 

नेपाल अपांग संघका संस्थापक स्व. खगेन्द्रबहादुर वस्नेतको जन्मजयन्तीको अवसर पारेर नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाले अपांगता भएकाहरुलाई सहायक सामग्री वितरण गरेको छ ।

भद्रपुर ४ स्थित संघको कार्यालय परिसरमा बुधबार आयोजित कार्यक्रमका बीच संघले अपांगता भएका दुईजनालाई ह्वीलचियर र श्रवण शक्ति नभएका एकजनालाई श्रवणयन्त्र वितरण गरेको हो ।

संघका सभापति ऋषि चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका थिए । भद्रपुर ४ का रीता राई र बलबहादुर गुरुङलाई ह्वीलचियर प्रदान गरिएको थियो भने भद्रपुर २ नौलक्षी राईलाई श्रवणयन्त्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव बालध्वज कार्कीले गरेका थिए ।

यसै अवसरमा संघ परिसरमा सरसफाई र स्व. वस्नेतको सम्झनामा दीप प्रज्वलन पनि गरिएको थियो ।  कार्यक्रममा संघकी केन्द्रीय सदस्य शर्मिला अधिकारीसमेतको उपस्थिति थियो ।