बिराटनगर ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरुलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
साथै २० बर्ष अगाडी कर्तव्य गरी ज्यान मारेको तत्काल अभियुक्त नखुलेको कर्तव्य ज्यान मुद्दामा संकित व्यक्तिलाई निगरानिमा राखी प्रतिवादीको पहिचान गरी थप प्रमाणहरु जुटाई पक्राउ गर्न सफल भएको र अनुमति प्राप्त नभएको ढुङ्गा संचालन गरी क्षमता भन्दा बढी यात्रु हालेर लापरवाही गरी सप्तकोशी नदिमा डुंगा चलाएको कारण दुर्घटना भई ढुङगा पल्टिदा १÷१५ जना मानिस बेपत्ता पारेको ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात ८ बर्षसम्म फरार रहेका प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
उनीहरुले आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुनेगरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय वाना, संखुवासभा दरबन्दी भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्कीलाई उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।