झापा । 

झापाको शिवसताक्षी ८ को पशुपति एकाडेमीले बिद्यालयको बार्षिकोत्सवको अवसरमा सामाजिक क्षेत्रमा आर्थिक तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । 

विद्यालयको ३२ औं बार्षिकोत्सवमा सोमबार नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा उपचार कोषमा ११ हजार रुपैयाँ नगद सहयोग गरेको छ । 

त्यसैगरी इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिद्यालयले झापाको पुरानो ऐतिहासिक धार्मिक स्थल क्षेत्रका जेष्ठ नागरिक ९७ बर्षीय हरि मातालाई नगद, खाद्य सामाग्री र न्यानो कपडाले सम्मान गरेको विद्यालयका संस्थापक संचालक चन्द्रप्रसाद खनालले बताए । 

धाम क्षेत्रमा उदार गरि संरक्षण गरिएका गाई र सो आसपास क्षेत्रका बाँदरलाई फलफुल खुवाउने कार्याक्रम समेत गरिएको कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग पाएका दाताले विद्यालयले सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका छन् ।

यो संगै नेपाल पत्रकार महासंघ झापाको पत्रकार उपचार कोषमा लगभग ५१ लाख रुपैयाँ रकम जम्मा भएको छ । उक्त कोषलाई एक करोड पुर्याउने महासंघको उदेश्य रहेको अध्यक्ष एकराज गिरीले बताएका छन् । शिवसताक्षी नगरपालिकामा निकै लोप्रिय मानिएको निजी विद्यालय पशुपति एकाडेमीले आगामी दिनमा समेत थप सहयोग गर्ने जनाएको छ ।