• उद्धव पुरी 

झापा । 

किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धि बिज्ञ कार्यदलले लिपिको नाम परिवर्तन र अक्षर थपिएकोप्रति लिपि अभियन्ताहरुले आपत्ति  जनाएका छन् । 

विज्ञ कार्यदलले २५ अक्षरको लिपिलाई ४८ अक्षर बनाएर ३ सय बर्षदेखिको लिम्बुहरुको लिपिको इतिहास समाप्त पारेको र लिपिको नाम किरात सिरिजङ्गा बनाएको भन्दै अभियन्ताहरुले बिर्तामोडमा आइतवार विरोध प्रदर्शन गरेका हुन् । 

२५ अक्षरको सिरिजङ्गा लिपिमा भारतमा मास्टर डिग्री लेवल पढाई भइरहेको र उक्त लिपिबाटै ४ जनाले पिएचडी समेत अध्यापन गराउँदै गरेकोले उक्त लिपिलाई तोडमोड गरेको अभियन्ताहरुको भनाई छ । भारतले समेत सिरिजङ्गा लिपिलाई मान्यता दिएको अभियन्ता तथा संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले बताए । उनले २५ अक्षरको लिपिलाई उक्त लिपिका जानकारसँग समन्वय र छलफल नै नगरी २/४ जनाले अक्षर र नाम परिवर्तन गर्नाले लिपि कुरुप भएको बताए । 

३ सय बर्षदेखि चलिआएको लिपिलाई ब्यापक छलफल गरेर मात्र नाम परिवर्तन र अक्षर वढाउनु पर्ने २४ बर्षदेखि सोही लिपिबाट अध्यापन गराउँदै आएका शिक्षक तथा लिपि अभियन्ता आरवी लिम्बु (याक्थुङ चुम) ले बताएका छन् । ‘यसरी अचानक लिपिको नाम परिवर्तन र अक्षर वढाएपछि अध्यापनमा अन्यौलता छाएको छ’ आरवीले भने ‘हामीलाई २५ व्यान्जनको लिपि काफी छ ।’ 

डा. तारामणि राईको संयोजकत्वमा गठित ९ जनाको विज्ञ कार्यदलले शनिवार काठमाडौंमा किरात सिरिजङ्गा लिपि सार्वजनिक गरेको थियो । 

लिम्बु भाषा  तथा साहित्य अभियन्ता याक्थुङ्वा विशाल साँबाले २५ वटा अक्षरको लिपिमा लिम्बु समुदायमा एउटा पनि थप्न आवश्यक नरहेको बताए । ‘अन्य जातीको भाषा छ लिपि छैन’ उनले भने ‘लिपिको नाम परिवर्तन र थपेको अक्षर नहटाए विज्ञ कार्यदलको विरोधमा चरणबद्ध आन्दोलनमा जानेछौं ।’ उनले थपे ‘मैले यसो भनिरहँदा यो लिपि अन्य समुदायले प्रयोग गर्न नपाउने भन्न खोजेको होइन’ तर, ऐतिहासिक पहिचान भएको लिपिलाई तोडमोड भएकोप्रति हाम्रो घोर आपत्ति छ ।’ अन्य समुदायलाई समेट्ने बहानामा सिरिजङ्गा लिपि तोडमोड गरिएको उनले बताए ।   

विरोध कार्यक्रममा सिरिजङ्गा लिपि संरक्षण समितिकातर्फबाट भुपेन्द्र मावो, आदङ्वे सम्फाहाम्फे, सुजन वेघा, केदार ताम्लि, पदम चेन्जी मावोलगायतको उपस्थिति रहेको थियो ।