झापा ।
आज माघेसक्रान्ती अथवा माघ महिनाको पहिलो दिन । आज हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजको दिन विहानै मकर नुहाउने र घ्यू, चाकु, तिलको लड्डु, भुजा साथै मुरैको लड्डु अनि च्यूराको लड्डु, तरुल, सख्खरखण्ड, पिडालु, खिचडी खाने प्रचलन छ । यो पर्व बिभिन्न समुदायले आ–आफ्नो तरिकाले मनाउने गर्छन् । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् ।
माघेसंक्रान्तिमा विभिन्न रुथानमा मेला आयोजना हुने गरेका थिए । तर, कोरोना महामारीका कारण अधिकांश स्थानमा लाग्ने माघे मेलाहरु लाग्न सकेका छैनन् । झापाकै प्रसिद्ध मेलाको रुपमा रहेको कनकाई माईमा समेत मेला नलाग्ने भएको छ ।
आजको दिनलाई माघेसक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती तथा माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ । आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ । तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो ।
त्यसै कारणले पनि माघेसक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ । आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ । उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता पनि छ ।