सुनसरी । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित चार जनाको समुहलाई पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा हात हतियारसहित केही ब्यक्तिहरु रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साँझ र बिहीवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका –७ घुस्कीका २० बर्षीय  सबिर मिया, ३१ बर्षीय  सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ का २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकलसहित पक्राउ गरेको हो ।

यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हात हतियारसहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसँगै तत्काल प्रहरी परिचालन भएकोमा थप तिन जनालाई हतियार सहित पक्राउ गरिएको हो । सवरेज मियासहित अन्य तिन जनालाई बिहीवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हात हतियारसहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरी आवश्यक कानूनी प्रकृया अघि बढाएर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।