ईलाम ।
१८ बर्षिया किशोरीको हत्या गरेर फरार रहेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्षपछि पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर–३ का ४१ बर्षीय गोरे भनिने मनकुमार राईलाई घटनाको २० बर्षपछि गत पौष १६ गते प्रहरीले पक्राउ गरेको हो ।
ईलामकै कन्याम घर भई आफ्नो माईतीघर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मनकुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
२०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मनकुमारले आफुसँगै जान आग्रह गरेको र जान नमाने पछि जबरजस्ती तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको सो प्रहरी कार्यालयले जनाएको छ । घटना बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।