बिर्तामोड । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई नागरिक अभिभन्दनसहित बिदाई गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवार्इमा जिल्लामा क्रियाशील रहेका विभिन्न तीसबटा भन्दाबढी संघ संस्थाले प्रजिअ तिमिल्सिनालाई नागरिक अभिनन्दनसहित सम्मान गरेका हुन् । 

प्रजिअ तिमिल्सिनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं सरुवा भएसँगै अभिनन्दनसहित बिदाई  बिर्तामोडमा आज (शनिवार) आयोजित कार्यक्रमकाबीच प्रजिअ तिमिल्सिनालाई विदाई गरिएको थियो ।

प्रजिअ तिमिल्सिना झापामा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, कोभिड महामारीको समयमा सिमा क्षेत्रमा चेक जाँचलाई कडाई पार्दै उच्च सर्तकता अपनाएको , सबै झापावासीलाई कोभिड १९ विरुद्धको खोप दिलाउन उच्चतम पहल गरेको, कोभिड १९ को पीसीआर परीक्षणका लागि झापामा पीसीआर ल्याव सञ्चालनमा ल्याउन पहल गरेको लगायतका महत्वपूर्ण काम गरेको भन्दै प्रजिअ तिमिल्सिनाको झापावासीले प्रशंसा गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी लगायतले प्रजिअ तिमिल्सिनाले झापामा रहँदा गरेको कार्यहरुको प्रशंसा गरेका थिए ।  सोही समारोहकाबीच पाँचथर सरुवा भएर जान लागेका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललाई समेत विदाई गरिएको थियो ।

झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र सचिव कुशल खतिवडाले प्रजिअ तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृतको सम्मान पत्र बाचन गरेका थिए । कार्यक्रमको संचालन बिर्तामोड बिर्तामोड खानेपाली संस्थाका सचिव मेघराज वास्तोलाले गरेका थिए ।