सुरुङ्गा । 

रोटरी क्लव अफ सुरुङ्गाले हाल बढ्दै गएको चिसो मौसमलाई लक्षित गरेर अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारमा २५ थान सिरकसहित ३५ हजार बराबरको विविध सामाग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले आफ्नो वार्षिक कार्यक्रम अनुसार नै जाडोको मौसमलाई लक्षित गरेर न्यानो कपडा वितरण गरेको हो । क्लवकै तर्फबाट विभिन्न विद्यालयमा अध्ययनरत विपन्न वर्ग र समुदायका करिव दुईसय विद्यार्थीलाई सुइटर वितरणको कार्यक्रम समेत रहेको क्लवका मिडिया संयोजक राम निरौलाले जानकारी दिए । क्लवले यस अघि शिक्षा, स्वास्थ्य, खानेपानी,सामाजिक विकास, वातावरणका क्षेत्रमा समेत उल्लेखनीय गतिविधि संचालन गर्दै आएको मिडिया संयोजक निरौला बताउँछन् ।  

क्लवका  अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व एवम् शंकराचार्य पीठका व्यासाचार्य पं.लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको एक संक्षिप्त कार्यक्रमका विच क्लवका संस्थापक अध्यक्ष एल.पी. उप्रेती, पूर्व अध्यक्ष कुमारमणि पोखरेल, प्रेसिडेन्ट इलेक्ट खेम प्रसाईसहित पदाधिकारीहरुको उपस्थितीमा सामाग्री वितरण गरिएको हो ।   शंकराचार्य पीठ परिसरमा आयोजित कार्यक्रममा क्लवकका तर्फबाट व्यवस्थापन गरिएको सामाग्री व्यासाचार्य पं.लक्ष्मीप्रसाद खतिवडा,आचार्य शान्तीराम नेपाललाई हस्तान्तरण गरिएको हो । 

क्लवकी सचिव सरला दाहाल पोखरेलले संचालन गरेको औपचारिक कार्यक्रमकै अवसरमा क्लवका संस्थापक अध्यक्ष एल.पी. उप्रेती र यदुका उप्रेती(उषा) ले  शंकराचार्य पीठ साधुटारको नामाकरण भएको डिजिटल बोर्ड निर्माणकालागि ६० हजार रुपैंया सहयोग स्वरुप संस्थालाई दिने घोषणा गरेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको शंकराचार्य पीठ साधुटारको विकास एवम् विस्तारमा आगामी दिनमा समेत थप सहयोग गर्दै जाने प्रतिवद्धता जनाउँदै क्लवका संस्थापक अध्यक्ष उप्रेतीले रोटरी क्लव भनेको सामाजिक सेवाका लागि मात्रै नभएर व्यक्तित्व तथा चौतर्फी विकासमा विशेष महत्वका साथ अघि बढ्ने सामाजिक संस्था भएको प्रष्ट पारेका छन् ।

 रोटरीले आफ्ना सात वटा फोकस क्षेत्रहरु शान्ति तथा द्वन्द ब्यवस्थापन, रोग नियन्त्रण तथा उपचार, खानेपानी तथा सरसफाई, मातृशिशुु तथा स्वास्थ्य, प्राथमिक शिक्षा तथा साक्षरता, आर्थिक ,सामाजिक विकास तथा वातावरणमा सहयोग गर्दै आएको बताइएको छ । विस्तृत साथै व्यापक कार्य क्षेत्र भएको रोटरीले विश्वमै पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सुरुङ्गा रोटरीका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताएका छन्  ।