झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं.७ मा आगलागी हुँदा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ । बुधवार बेलुका राती ९ बजेर २० मिनेटमा मेचीनगर–७ पिपल चोकमा केशब पाठकको घरमा आगलागी भएको थियो । 

आगो निभाउने क्रममा घरमा रहेको ग्यास सिलिण्डर पड्कदा मेचिनगर –८ का वर्ष ४५ का सारद राजवंशी घाइते भई उपचारको लागि एन्जल मेडिकल धुलाबारी लगिएकोमा मेडिकलमा पुर्याउने साथ मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाठकको टिनको छानो, चित्राको बेरा भएको एकतले कच्ची घरमा रामेछापका कुमार पाण्डे  भाडामा बस्दै आएका थिए ।  घरमा कोहि नभएको अवस्थामा अचानक आगोलागी भएको थियो । 

आगलागीमा मेचीनगर–८ का  लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का गोविन्दप्रसाद राजवंशी, मेचिनगर–७ का दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि वि.क, निर्मल शर्मा घाइते भएका छन् । घाइतेहरुको बिर्तामोडको बीएण्सी र बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीमा घाइते ८ बर्षकी शुसिला अधिकारीलाई उपचारपछि घर पठाईएको प्रहरीले जनाएको छ । 

आगलागी मेचिनगरको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राती १० बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको थियो भने सो घटनाको बिषयमा  थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ  ।