अर्जुनधारा ।
अर्जुनधारा नगरपालिकाको १०औं नगर सभा बुधबारदेखि सुरु भएको छ । बितेको चार आर्थिक वर्षमा भएको मुख्य उपलब्धीहरु सार्वजनिक गर्दै अर्जुनधारा ७ सभाको पहिलो बैठकमा उपप्रमुख तथा बजेट तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले चार वर्षमा नगरपालिकाबाट सम्पादन भएका मुख्य उपलब्धीहरु उल्लेख भएको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।
प्रतिवेदनअनुसार पूर्वाधार तथा विकास निर्माण क्षेत्र अन्तरगत नगरपालिकामा जम्मा १३.६ किमी सडक कालोपत्रे निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा १२.४ किमी सडक कालोपत्रे गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।
त्यसैगरी नगरपालिकाले सामुदायिक विद्यालयको भवन १४ वटा, वडा समिति कार्यालयको भवन, स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रस्तुत प्रतिवेदनमा स्वास्थ्य, कृषि, प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यायिक समिति, पशुपंक्षी विकासलगायतका प्रगति विवरण पनि उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा ४४ करोड ६५ लाख ७५ हजार दुई सय ९८ रुपैयाँ, आर्थिक वर्ष ०७५–०७६ मा ७५ करोड ५३ लाख ९९ हजार रुपैयाँ, आर्थिक वर्ष ०७६–०७७ मा ६५ करोड ७३ लाख ३० हजार छ सय २३ रुपैयाँ र ०७७÷०७८ मा ७८ करोड ३९ लाख २१ हजार तीन रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा छ । सोही अवधिमा नगरपालिकाले आठ वटा ऐन्, तीन वटा नियमावली र १५ वटा कार्यविधि बनाएको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको सभामा पूर्व कानून मन्त्री अग्नि खरेल, पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, संविधान सभा सदस्य भक्त खपाङ्गी, पूर्व सांसद्द्वय केदारमणि ढकाल र शेरबहादुर इङनामले शुभकामना मन्तव्य राखेका थिए । सभाको दोस्रो बैठक यही पुस २६ गते सञ्चालन हुने प्रमुख रानाले जानकारी दिए ।