गौरादह ।
झापाको गौरादहको इलाका प्रहरी कार्यालयको प्राङ्गणमा आगन्तुक प्रतिक्षालय निर्माण भएको छ । स्थानीय समाजसेवी कर्णबहादुर कटुवाल र सुष्मा कटुवालले आफ्ना स्वर्गीय पृतिहरुको स्मृतिमा प्रतिक्षालय निर्माण गरि दिएका हुन् ।
कटुवालले आफ्ना स्व. बुबा खड्गबहादुर र स्व.आमा बालुकादेवी कटुवालको स्मृतिमा प्रहरी कार्यालय परिसरमा प्रतिक्षालय निर्माण गरिदिएको प्रहरीले जनाएको छ ।
एक समारोहका बीच प्रमुख अतिथि झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल तथा निर्माणकर्ता कटुवाल परिवारले संयुक्तरुपमा प्रतिक्षालय उद्घाटन गरेको स्व. कटुवालका नाति भुपालराज कटुवालले जानकारी दिए । कटुवाल परिवारले प्रतिक्षालय निर्माणमा ५ लाख ८५ हजार ४१३ रुपैयाँ खर्च गरेको छ ।
१ नं वडाध्यक्ष नगेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्थानीय देवेन्द्र खड्काले गरेका थिए । चौकीका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।