झापा।

 इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमस विश्वभर मनाइँदै छ । आज शनिवार इसाई धर्मालम्बीहरुले प्रेम, माया, सद्भावका साथ चर्चमा गएर प्रभुको पूजाअर्चना गर्दै मिष्ठान्न भोजन गरेर क्रिसमस मनाउने गरेका छन् । 

जिसस क्राइस्टमा विश्वास राख्ने इसाईहरूले यस दिनलाई क्रिसमस डेका रूपमा मनाउने गरेका छन् । आजका दिनलाई जिसस क्राइस्टको जन्मदिनको रूपमा लिने गरिन्छ । चौथो शताब्दीदेखि नै २५ डिसेम्बरलाई क्रिसमस डेका रूपमा मनाउन थालिएको हो । क्रिस्चियन धर्मावलम्बीहरूले आजका दिन चर्चहरूमा जिसस क्राइस्टको पूजाअर्चना गर्ने गरेका छन् ।

 इसाई धर्मावलम्बीहरुले जिससलाई प्रभुको नामले पुकार्ने गर्छन् । सम्पूर्ण मानवजातिको पापलाई नाश गर्नका लागि जिससले मानिसको अवतार लिएको विश्वास गरिन्छ । इसाई धर्मावलम्बीहरूको मुख्य ग्रन्थ बाइबल हो । बाइबलमा जिससका उपदेश, चमत्कारका विषयहरू समेटिएका छन् भने जसमा सांसारिक नियमहरू पनि रहेका छन् ।