बिर्तामोड ।
पारिवारिक निजी वन संघ नेपाल(एफोन) प्रदेश नं. १ को आयोजनामा झापाको बिर्तामोडमा सोमवार पारिवारिक निजी वन किसानका सवालमा अन्तरसम्वाद कार्यक्रम भएको छ ।
पारिवारिक निजी वन संघ नेपाल प्रदेश नं. १ का उपाध्यक्ष लक्ष्मण पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिबहादुर राजवंशीको प्रमुख आतिथ्य तथा पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीको विशिष्ठ आतिथ्य रहेको थियो ।
स्वागत पारिवारिक निजी वन संघ नेपाल प्रदेश नं. १ की कोषाध्यक्ष सीता ढकालले गरेको कार्यक्रमलाई सचिव राजकुमार ओलीले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष बेदप्रसाद भण्डारी, एफोनका सचिव नविन पौडेल, कोषाध्यक्ष राजेन्द्र भट्ट, केन्द्रीय सदस्य मानसिंह पोखरेललगायतको उपस्थिति रहेको थियो ।
जमिनको दिगो व्यवस्थापन र उपयोगको माध्यमबाट पारिवारिक निजी वन किसानहरूको जीविकोपार्जन र गरिवी न्यूनीकरण गर्दै समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउने लक्ष्यसहित एफोन स्थापना भएको जनाइएको छ । वन किसानहरुको जीविकोपार्जन र गरिबी न्यूनीकरणका अवसरहरुलाई सुदृढ गर्दै नीति निर्माण र कार्यान्वयन प्रक्रियामा संलग्न गराउँदै निजी वन किसानमा सुशासन, शसक्तीकरण, आत्मबल, आत्मनिर्भरता अभिवृद्धि, हरित रोजगार र एक वडा एक वन उद्यम स्थापना गर्दै जाने महासंघको लक्ष्य छ ।
एफोनले किसानहरुलाई पारिवारिक निजि वनको उपयोग किसानले गर्न पाउनुपर्छ भन्ने कुरामा आवाज उठाउँदै आईरहेको छ । किसानहरुसँग रुख त छ तर उनीहरुलाई त्यो रुख उपयोग गर्ने अधिकार नभएको बताइएको छ । एफोनले किसानहरुलाई त्यो रुखको उपयोगिताको अधिकार हुनु माग गर्दै आएको छ ।
किसानहरुले उत्पादन गर्ने अन्य कृषिजन्य कुरा धान, गहुँ, मकै, फलफुल लगायतका सामग्रीमा किसानकै स्वामित्व रहन्छ भने उनीहरुकै जमिनमा रहेको त्यो रुख विरुवा उपयोग गर्न किन जिल्ला वन कार्यालय जानुपर्यो ? त्यसैले निजि वनमा रहेका त्यस्ता रुखको किसानले नै आफ्नो आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत माग गर्दै आएको छ । साथै एफोनले वृक्षारोपण, वन संरक्षणका विविध कार्यहरु गर्दै आएको जनाएको छ ।