विर्तामोड  । 

नयाँ पुस्तालाई पनि गीताको ज्ञान दिइनुपर्छ भन्ने मान्यताका साथ काँशीमणि पितृ स्मृति समूहद्वारा श्रीमद् भगवद भक्ति आश्रम अर्जुनधारा–९ ले प्रत्येक बर्ष मंसिर शुक्ल एकादशीका दिन गीताजयन्तीको अवसर पारेर श्रीमद्भागवद्गीताको चर्चा एवं प्रतियोगितात्मक गीता वाचन कार्यक्रम गर्दै आएको छ ।

यसबर्ष पनि विभिन्न गुरुकुलहरुमा अध्ययनरत विद्यार्थीहरुका बीच गीतावाचन एवं प्रश्नोत्तर विधिमार्फत प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा प्रस्तुत हुँदा विद्यार्थीहरुको उपस्थिति र औपचारिक सम्बोधन, गीतावाचनमा गति, यति र छन्द, उच्चारण र सुद्धासुद्धी एवं प्रश्नोत्तरमा बर्गीकरण गरी गराइएको प्रतियोगितामा माधव संस्कृत विद्यालयका ईश्वर भट्टराई प्रथम, कालिका संस्कृत विद्यापीठ (कालिकापीठ) कालीस्थानका विशाल अधिकारी द्वितीय, सप्तऋषि आश्रम अर्जुनधाराका विद्यार्थी सौगात बराल तृतीय र भगवत्भक्ति आश्रम देवर्सी संस्कृत विद्यालयका रमेश पोखरेल शान्त्वना भएका छन् । प्रतियोगितामा हरिनारायण भट्टराई र युवराज रिमालले निर्णायकको भूमिका निर्वाह गरहेका थिए ।

विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले प्रमाणपत्र एवं पुरस्कार प्रदान गरे। कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेलले आफैंद्वारा नेपालीमा अनुवादित श्रीमद्भगवद्गीता वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि फलाहारी, साहित्यकार कृष्ण धराबासी, पुण्यप्रसाद खरेल, मातृका संग्रौला, दुष्यन्त भट्टराई, मिना अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। तुलसीराम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत एवं कार्यक्रमको औचित्यमाथि जानकारी विष्णुकुमार भट्टराइले गरेका थिए ।   सामाजिक ब्यक्तित्व गोपीकृष्ण प्रसाई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, शिवराज भट्टराई, ब्रम्हकुमारी राजयोग विर्तामोडका प्रतिनिधि लगायत साहित्यिक एवं समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।