झापा ।
हिन्दूहरुले गाईलाई लक्ष्मीका रुपमा पूजा गर्ने चलन छ । हिन्दूधर्ममा पवित्र र गुणी पशु गाईमा ३३ कोटी देवताको वास हुने विश्वास गरिन्छ । गाई दानलाई सबैभन्दा ठूलो दान र हत्यालाई सवैभन्दा ठूलो महा पाप मानिन्छ । तर, पछिल्लो समय झापा क्षेत्र नं.३ को बाहदशी गाउँपालिकाको राजगढ, हल्दिबारी गाउँपालिकाको अधिकारी चोक र ढडुवा र भद्रपुर नगरपालिकाको पृथ्वीनगर भीमनगर हुँदै दैनिक गाईगोरु गाडीमा राखेर भारतीय सिमानासम्म पु¥याउने कार्यमा त्यहाँकै केहि स्थानीयको समेत संग्नता रहेको स्रोतले शब्दपत्र डटकम अनलाइनलाई बताएको छ ।
‘गाई गोरुको तस्करी दिनानुदिन बड्दै गएको छ’ नाम नबताउने सर्तमा एक स्थानीयले भने ‘कोरोना संक्रमणपछि बन्द जस्तै देखिएको गाईगोरुको तस्करी फेरि मौलाएको छ ।’ स्थानीय प्रशासन समेत नदेखेझै नाटक गरी रहेको त्यहाँका गौ रक्षक अभियान्ता सोमनाथ सुबेदीले बताए ।
स्थानीय जनप्रतिनिधि, जिल्ला तथा स्थानीय प्रहरी प्रशासनको समेत सहयोगमा गाईगोरुको अबैध तस्करी गरी भारत लैजाने गरेको उनको भनाई छ । ‘तस्करी रोक्ने पहल भइरहेको छ’ अभियन्ता सुवेदीले भने ‘दैनिक न्युनतम ४०/५० वटा गाईगोरु तस्करी भइरहेको छ ।’ स्थानीय प्रहरी चौकी जलथलमा तस्करी नियन्त्रणका लागि जानकारी गराउँदा माथिल्लो आदेश नआई केहि गर्न नसकिने बताउने गरेको उनले बताए ।
नेपाल सरकारले समेत प्रतिबन्ध गरेको गाई तस्करीलाई प्रहरी/प्रशासनको आर्थिक चलखेलमा सजिलैसँग भारत लैजान दिएको र त्यस बापत मासिक लाखौं रुपैयाँको सेटिङ हुने गरेको एक व्यापारीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छ्न् । ‘गाईगोरु बिहानको राती ठूलो ट्रकमा खाँदेर पश्चिम नेपाल र पूर्वका पहाडी जिल्लाहरूबाट ल्याउने गरिन्छ’ ती व्यापारीले भने ‘रातीनै हल्दिबारीमा अनलोड गरी त्यहाँबाट बिहान छोटा हात्ती गाडिमा पुनः लोडगरी सिमा नाकासम्म पुर्याइन्छ ।’ उनले थपे ‘पुलिसलाई मिलाएको हुन्छ ।’ नेपालबाट त्यसरी लगिएका बुढा गाई गोरुहरु भारत तथा वंगलादेका विभिन्न शहरमा काट्ने गरेको विभिन्न सञ्चारमाध्यमहरुमा बेलामौकामा समाचार आउने गरेको छ ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनका अनुसार हल्दिबारी गाउँपालिका मात्रै नभएर देशभरी नै गाई गोरू तस्करी भईरहेको छ । उनले त्यस बिषयमा आफूले अघिल्लो एस.पि.सँग नियन्त्रण गर्न ध्यानाकर्षण गराएको बताए । ‘यो तस्करी नियन्त्रणका लागि स्थानीय गौ रक्षक अभियानता र स्थानीय नागरिकले विशेष भूमिका खेल्नुपर्ने हुन्छ’ लिङ्देनले भने ‘प्रहरी र प्रशासनले कडाई नगर्दा यस्तो गतिविधि बढेको र गाउँपालिका र आफूपनि यस्तो गतिविधिको बिरूद्व छु ।’ उनले उक्त गतिविधि रोक्न आफूले सक्दो पहलकदमी र सहयोग गर्ने बताए । उनले झापाका हल्दिवारी, धुलाबारी कचनकवल, भद्रपुर हुँदै सयौं गाईहरु मासुकै लागि तस्करी भईरहेको बताएका छन् ।