विराटनगर । 

मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका –११ रामपुर चौकमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको  ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको  साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्ना कुमार साहनी घाईते भएका थिए ।

सहनिको कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

 त्यसैगरी मोरङकै बुढिगंगा गाउँपालिका २ टंकीमा दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए । उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।