शनिश्चरे ।
झापाको अर्जुनधारा–९ मा किरातेश्वर हाङसाम थेवा युमा माङहिममा नव निर्मित १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुन्द लिङ्देनको शालिक अनावरण हुने भएको छ ।
बहुभाषिक पर्यटकीय स्थलको रुपमा रहेको नमूना सामुदायिक बन क्षेत्रमा निर्मित किरातेश्वर हाङसाम थेवा युमा माङहिम तथा महागुरु फाल्गुन्दको शालिक मंसिर २६ गते उद्घाटन गरिने भएको हो ।
फाल्गुनन्दको ८.५ फिटको शालिक तथा माङहिम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गर्ने तय भएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
उद्घाटन कार्यक्रमको तयारीका लागि ७ वटा उपसमिति निर्माण गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा लबकुश गौतम, अतिथि तथा दानवीरदाता सत्कार सम्मान उपसमितिको संयोजकमा शेरबहादुर इङनाम, खाद्यन्न ब्यवस्थापन उपसमितिको संयोजकमा तिलसिंह माङमु लिम्बु, पूजा सामाग्री तथा प्रसाद ब्यवस्थापन उपसमितिको संयोजकमा फिपराज कुरुम्वाङ रहेको छन् । त्यस्तै कार्यक्रम स्थल व्यवस्थापन उपसमितिको संयोजकमा मोहन सुब्वा, स्वयमसेवक परिचालन उपसमितिको संयोजकमा लबकुश गौतम र अनुगमन उपसमितिको संयोजकमा लक्ष्मी इङनाम रहेका छन् ।
करिव ६ कठ्ठा बन क्षेत्रमा रहेको उक्त स्थलको २०७४ सालदेखि संरक्षण र संर्वद्र्धन सुरु थियो भने ०७५ सालमा दर्ता भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
उक्त स्थलका लागि संघीय सरकारको २० लाख, तत्कालीन जिल्ला विकास समितिबाट ५ लाख र दाताहरुको २५ लाख गरी ५० लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । फाल्गुनन्दको शालिक १० लाख रुपैयाँमा मुर्तिकार भक्त राईले निर्माण गरेको बताइएको छ । यसअघि नै २०७६ चैत १६ गते र २०७७ बैशाख २६ गते शालिक अनावरणको कार्यक्रम तय गरिएको भएपनि कोरोना महामारीका कारण हुन नसकेको सचिव लबकुश गौतमले बताए ।