झापा । 

झापाको हल्दिबारी गाउँपालिकाले कृत्रिम गर्भाधान मार्फत सुत्केरी भएका पशुलाई ‘सुत्केरी भत्ता’ दिदै आएको छ । गाउँपालिकाले २०७५  मंसिरदेखि सुत्केरी भएका गाई र भैंसीलाई पोषण सुधारका लागि कृषकलाई प्रति पशु एक हजार रुपैयाँका दरले ‘सुत्केरी भत्ता’ दिन थालिएको थियो। 

गाउँपालिकाले  ‘किसानको खुशी, पशुपालन र कृषि’ कार्यक्रम मार्फत शुरू भएको उक्त कार्यक्रम अन्तर्गत पशु नश्ल सुधारका लागि पशुलाई सुत्केरी भत्ता दिने निर्णय गरि शुरू भएको गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बताए।

उक्त भत्ताका लागि पशुधनी कृषकले आफ्नो नागरिकताको प्रतिनिलिपी र पशुको कृत्रिम गर्भाधान गराएको प्रमाणपत्रसहित गाउँपालिकाको पशु  सेवा शाखामा निवेदन दिनुपर्ने  गिरीले जानकारी दिए ।  ‘यस कार्यक्रमले किसानलाई व्यवसायिक पशु पालनतर्फ आकर्षित गर्न यो कार्यक्रम सुरु गरेको हो’ गिरीले भने ‘परम्परागत पशु पालनबाट किसानको जीवन स्तर उकास्न नसकिने भएकाले किसानलाई उन्नत जातको पशु पालनमा प्रेरित गर्न यो कार्यक्रम ल्याइएको हो ।’

 भत्ताले किसानलाई पशुपालनमा व्यवसायिक र थप परिस्कृत बनाउने उनको भनाई छ  । उता कृषक चन्द्र रेग्मीले यो कार्यक्रम राम्रो र लाभदायक छ तर समय अनुसार पशु सुत्केरी भत्ता रकममा भने केही बृद्वि गर्न आवश्यक भएको बताए । यो कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिनु पर्नेमा रेग्मीको जोड छ ।