बिर्तामोड ।
नेपाली कांग्रेसका कार्यकर्ता तथा सरसफाई अभियानकर्मीले मतदान स्थल वरपर छरिएका प्रचार सामाग्रीलगायतका फोहोरको ब्यवस्थापन गरेका छन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगतको गत मंसिर १० गते भएको झापा जिल्ला अधिवेशनका क्रममा मतदान केन्द्र यत्रतत्र छरिएका उम्मेद्वारका प्रचार सामाग्री, मतदान केन्द्रमा टाँगिएका ब्यानर, पोष्टर पम्प्लेटलगायतका सामाग्री हटाइएको हो ।
सोमबार कांग्रेसका कार्यकर्ता तथा सरसफाईकर्मीलगायतले बिर्तामोडस्थित बिर्ताबजारको अनारमनी पब्लिक क्याम्पससहित आसपासका क्षेत्रमा सरसफाई गरेका हुन् ।
उम्मेद्वारले निर्वाचनका क्रममा प्रयोग गरेका प्रचार सामाग्री नेता तथा कार्यकर्ताले हटाउलान् या छाड्लान् भन्ने धेरै जनमानसमा कौतुहलता भइरहेको बेला राजनीति गर्नेले आफुले गरेको फोहोर आफै नै व्यवस्थापन गर्नुपर्छ भन्ने संन्देश प्रवाह गर्न सरसफाई गरिएको कांग्रेस नेता शेरबहादुर थापाले बताए ।
झापा क्षेत्र नं. २ का कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका थापाको अगुवाईमा सरसफाईकर्मी विष्णु आचार्य, नरेश महरा, कांग्रेसका युवा समिल राईलगायतले मतदान केन्द्र सरसफाई गरेका हुन् ।
मतदान केन्द्रमा फ्याकिएका पानीका बोतल संकलन गरी सरसफाई अभियन्ता गणेश ढुङ्गानालाई प्रदान गरिएको थापाले जानकारी दिए । फोहोरलाई मोहोरमा परिणत गर्ने हेतुले उक्त बोतल ढुङ्गानालाई प्रदान गरिएको बताइएको छ ।