गोलधाप । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ गोलधापमा सडक कालोपत्रे गर्ने योजनाको काम शुरू भएको छ । जन जागृति माध्यमिक बिद्यालयबाट किराँत चोक हुदैं लाटी होली जोड्ने सडक कालोपत्रे हुन सुरु भएको हो । 

त्यहि सडक खण्डको चक्ला चोकबाट दक्षिण योगप्रसाद भट्टराईको घर हुदै रामजानकी मन्दिरसम्म जोड्ने सडकको पनि कालो पत्रे गर्ने काम सुरु भएको छ ।

जनजागृति स्कुलदेखि सुरु भएको कालोपत्रेको लम्बाई करिब चार किलोमिटर रहेको छ । उक्त सडक खण्ड गाउँपालिका प्रदेश र केन्द्र सरकारको संयुक्त बजेटबाट कालोपत्रे हुन लागेको हो । सडकको दायाँबायाँ ३० फुटे चौडाई रहने र ५ मिटर कालो पत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ । 

आगामी २०८० साल बैशाख २० गते काम सक्ने गरी देब एण्ड सायर, सारा सृष्टि, वाई. पि.आर. जे. भि. धनकुटाले २०७७ चैत २३ गते मेसिनबाट कालोपत्रे गर्ने सम्झौता भइ कम्पनीले कामको जिम्मेवारी पाएको थियोे । उक्त सडकको ठेक्का ६ करोड ४१ लाख ४८ हजार नौं सय अठार रुपैयाँ २० पैसामा गाउँपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । 

आयोजनाको गत बिहिवार  गाउँपालिका इन्जिनियर संकल्प खनाल, प्राबिधिक बिक्रम राजवंशी वडा नं.१ का वडा अध्यक्ष त्रिलोचन सापकोटा, वडा सचिब छबिकला चाम्लिङ साथै कार्यपालिका सदस्य लगायत समाजका अग्रज व्यक्तित्वहरुबाट स्थलगत अनुगमनसमेत थियो । 

२०७४ को स्थानीय तह निर्वाचन जितेर जनप्रतिनिधि आएपछि हल्दिबारीको स्वरूप परिवर्तन हुने क्रम जारी रहेको र एकपछि अर्को गर्दै विकास निर्माणको काम सञ्चालन हुँदै गईरहेको वडा अध्यक्ष सापकोटाले बताए ।