काठमाडौं । 

 नेपाल विद्युत् प्राधिकरणले शुक्रबार (आज) बाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही व्यवस्थाअनुसार आजबाट मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताले यो सुविधा पाउनेछन् । इनर्जी शुल्कका रुपमा यी परिवारले मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्नेछ । त्यस्तै, कृषि र सिँचाई प्रयोजनमा प्रयोग हुने विद्युत्को महशुलमा पनि छुट दिने व्यवस्था बजेटमा राखिएको थियो ।


अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले आफ्नो मिटरको क्षमता निः शुल्क रुपमा बढाउन पाउनेछन् । त्यस्तै अब सिंगल फेज प्रयोगकर्ताको न्युनतम शुल्क २५ रुपैयाँ घट्नेछ । त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्नेछ ।