- उद्धव पुरी
बिर्तामोड ।
नेपालको कफीको विश्व बजारमा माग र मूल्य बढि रहेको कफी व्यवसायीले बताएका छन् । व्यवसायीले उत्पादन बढाउँदै गए पनि नेपालमा कफिको बजारको समस्या रहँदै आएको उनीहरुले बताएका छन् ।
आठसय भन्दा माथिको उचाईमा हुने कफी व्यवसायले बिरुवा रोपेको ३ बर्षदेखि ४० बर्षसम्म उत्पादन दिने बताउँदै कफि ब्यवसायीहरुले पूर्वमा पनि कफिको व्यवसाय बढ्दै गएको बताएका छन् ।
किसानकोतर्फबाट बोल्दै कबिन्द्र चाम्लिङले कफी उत्पादनका लागि सहकारी स्थापना गरेर समुहगत तथा व्यक्तिगत रुपमा पनि कफि उत्पादन गरेको बताएका छन् । हाल २ सय रोपनी जग्गाबाट कफी उत्पादन गर्न सकिने आश्वासन उनले दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालय झापाका निमित्त क्षेत्रिय निर्देशक गौरब लुइटेलले बोर्डको तथ्याङ्क अनुसार प्रदेश नं. १ मा ७ सय ५९ हेक्टर जमिनबाट कफी उत्पादन हुँदैछ । उनले दिएको तथ्याङ्क अनुसार देशभर ३ हजार ५३ हेक्टरमा कफी खेती हुँदै गरेको र त्यसमध्ये प्रदेश नं. १ तेस्रो स्थानमा रहेको छ । प्रदेश १ मा ५९.६ मेट्रीकटन कफी उत्पादन भइरहेको उनले जानकारी दिए । त्यस्तै कफी व्यवसायमा ३ हजार ५ सय ५७ जना किसान आबद्ध रहेको तथ्याङ्कले देखाएको उनले बताए ।
‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादन युवाको योगदान’ भन्ने मुल नाराका साथ बुधबार बिर्तामोडमा आयोजित १७ औ राष्ट्रिय कफी दिवसका अवसरमा व्यवसायीहरुले उक्त कुराको जानकारी दिएका हुन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालय झापाका निमित्त क्षेत्रिय निर्देशक प्रमुख गौरब लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बोर्डका सदस्य हर्क तामाङ रहेका थिए ।
स्वागत सनराइज कफी इलामका प्रोपाराइटर तथा अगुवा कफी व्यवसायी भोजराज श्रेष्ठले गरेको कार्यक्रममा कफी किसानकोतर्फबाट कबिन्द्र चाम्लिङ, कफी क्याफेको तर्फबाट केदार बस्नेतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कफी किसान याम कार्कीले गरेका थिए ।