विर्तामोड ।
निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिरको तेस्रो साता हुने भएको छ । संघको कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारणसभा मंसिर २१ र २२ गते विर्तामोडमा गर्ने निर्णय गरेको हो ।
यस वर्षको साधारणसभा चुनावी साधारणसभा भएकोले झापाका निर्माण व्यवसायीहरुले यसलाई निकै महत्वका साथ हेरेका छन् ।
अघिल्लो वर्ष नै साधारणसभा सम्पन्न गर्नुपर्ने भए पनि विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण साधारणसभा पछि धकेलिएको हो । कोरोना संक्रमण घटेर सार्वजनिक समारोहहरु हुन थालेपछि निर्माण व्यवसायी संघ झापाले जनाएको छ ।
वर्तमान कार्यसमितिले कोभिड–१९ का कारण उल्लेख्य काम गर्न नपाए पनि संकटमा परेका व्यवसायीको राहतका पहलकदमी गरेको, निर्माण व्यवसायीहरुले काम सम्पन्न गरे पनि सरकारी भुक्तानी रोकिएकोमा सो भुक्तानी दिलाउन संघले महत्वपूर्ण भूमिका खेलेको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका क्रियाकलापमा संघको सक्रिय साथ–सहयोग रहेको थियो ।
हाल संघमा २ सय ७६ निर्माण व्यवसायी आबद्ध रहेको संघले जनाएको छ ।


















