- गंगा बराल
भद्रपुर ।
झापाको भद्रपुरस्थित मेची नदीमा मैथिल समाज झापाले आयोजना गरेको यस वर्षको सार्वजनिक छठ समारोहमा दर्शनार्थीको निकै ठूलो घुइँचो देखियो ।
बुधबार अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएर मनाइएको छठ पूजामा मेची नदीमा जिल्लाका विभिन्न स्थान, जिल्लाबाहिर र सीमावर्ती भारतबाटसमेत उल्लेख्य संख्यामा भक्तजनको सहभागिता रहेको आयोजक मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झापाले बताए । भद्रपुरको सार्वजनिक छठ समारोह प्रदेश १ मै सबैभन्दा बृहत मानिन्छ ।
अघिल्लो वर्ष कोरोना सन्त्रासका कारण मेची खोला किनारमा सार्वजनिक समारोह नगरिएका कारण यस वर्ष दर्शनार्थीको संख्या अनुमान गरिएभन्दा बढी भएको मैथिल समाज झापाका सचिव सुशील कर्णले बताए ।
भद्रपुर नगरपालिकासमेतको सक्रिय सहभागितामा आयोजना गरिएको छठ पूजा समारोहस्थलमा प्रतिष्ठापित छठ माताको विधिवत पूजाआजापछि ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ माता तथा सूर्य भगवानको उपासना गरेका थिए । बिहीबार विहान अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठ माता र सूर्य भगवानको उपासनापश्चात प्रसाद ग्रहण गरेपछि यस वर्षको छठ पर्व सकिने समाजका अध्यक्ष झाले बताए ।
नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा मनाइँदै आएको छठ पर्वमा यस वर्ष भण्डै ५ हजार पूजास्थल निर्माण गरी ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवै पट्टिबाट भक्तजनले पूजा अर्चना गरेका छन् ।
छठ पूजा समारोहलाई व्यवस्थित गर्न प्रहरी, स्काउट,, स्वयम्सेवकहरुले सहयोग पुर्याइरहेका छन् भने शिव शिष्य परिवारले निःशुल्क चियाको व्यवस्था गरेको छ । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले हेल्थ डेस्क राखेको छ भने नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले समरोहस्थलमै मास्क र स्यानिटाइजरको व्यवस्था गर्नुका साथै जिल्लामा देखिएको रगतको अभाव हटाउन रक्तदानको समेत आयोजना गरेको छ ।
नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरुले पनि यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको मैथिल समाजले जनाएको छ ।


















