बिर्तामोड । 

बिर्तामोड –२ स्थित वीर अमरसिंह बाल क्लबले  दिपावलीको अवसरमा सामुहिक  देउसीभैलो कार्यक्रम आयोजना गरेको छ। वीर अमरसिंह माध्यमिक विद्यालयमा रहेको बालक्लबले मंगलबार तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो ।

 नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्व मध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न र संरक्षणका लागि उक्त प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।

विभिन्न सांस्कृतिक पहिरन सहित छात्रा – छात्रहरूले आ–आफ्नो मौलिक देउसी भैलो खेलेर रमाइलो गरेका थिए । क्लबका अध्यक्ष सक्षम पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा ब्यबस्थापन समिति पदाधिकारी ,सल्लाहकार समिती ,अभिभावक ,शिक्षक र लगायतको उपस्थिति रहेको थियो।

सोही अवसरमा बिद्यालयका स्व पुर्व विद्यार्थी नवराज फुयालको नाममा उनका बुबा आमाले १ लाख रुपैयाको अक्ष्यकोष स्थापना गरेका छन् । बुबा नेत्र प्रसाद  आमा बिष्णुमाया फुयालले छोराको नाममा कोष स्थापना गरिएको बताए ।