झापा ।
नेत्रहीन युवा संघ झापाले संघमा आवद्ध ४० जना सदस्यलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । संघले सदस्यहरुलाई मास्क, सेनिटाइजर, मञ्जन, ब्रस, साबन, सेनिटरी प्याड, हेण्डवास लगायतका सामाग्री वितरण गरेको संघका झापा शाखा अध्यक्ष चन्द्र भट्टराईले जानकारी दिए ।
दृष्टिबिहीन व्यक्तिले धेरै जसो कुराहरू छोएर नै थाहा पाउने र संक्रमणको सम्भावना अत्याधिक भएकोले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको जनाइएको छ । कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिमा दृष्टिबिहीन युवाहरूको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिदै नेत्रहीन युवा संघ झापा शाखाले उक्त सामाग्री बितरण गरेको हो ।
यो समयमा अत्यन्तै उपयोगी सामाग्री संस्थाले वितरण गरेकोले अत्यन्तै खुशी लागेको सदस्य जेठा मुर्मुले बताए। विशेष गरेर लामो समयदेखि युवाहरूको शिक्षा, स्वास्थ, अधिकार र रोजगारको क्षेत्रमा संघले काम गर्दै आएको संघका झापा अध्यक्ष भट्टराईले बताए ।