- सुदिप गिरी
हल्दिबारी ।
कोरोना भाइरस महामारीले लामो समयदेखि बन्द रहेको झापा भद्रपुर–गलगलिया सीमा नाका करिब २० महिनापछि विहीवार आजदेखि सहज भएको छ । नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरेको थियो । तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमा नाका बन्द राखेका थिए ।
भारतीय एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाका सहज गरेको हो । भारतीय एसएसबीले डबल खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ ।
एसएबसीले सीमा हेल्थ डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । हाल दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । हेल्थ डेस्क राखे लगतै दुवै देशका नागरिकलाई खोप कार्ड, पिसीआर रिपोर्ट, नागरिकता, मतदाता परिचयपत्र देखाएर आवतजावत गर्ने दिने उनले बताएको छ ।
यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाका सहज भएको बारेमा आफूलाई जानकारी भएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताए । सीमा हेल्थ डेस्क राख्नका लागि आजै स्वास्थ्यकर्मी पठाएर नाका सहज गरिने उनको भनाई छ ।कोरोना महामारीका कारण लामो समयदेखि सीमा नाका सञ्चालनमा नआउँदा यहाँका जनताले मेची पुलको उपयोग गर्नबाट पनि वञ्चित हुनु परेको थियो ।