गोलधाप ।  
 झापा  हल्दिबारी गाउँपालिका वडा नं.१ मा स्थानीयले तीब्र विरोध गर्दागर्दै चारपाने १ मा दर्ता भएको इटाभट्टालाई जबरजस्ती पेलेर हल्दीबारी १ गोलधापमा पुनः संचालन गर्न लागिएको छ । जसबाट स्थानीय बासिन्दा प्रतिकुल असर पर्ने भएपछि बिस्थापनको जोखिममा परेका छन् ।

हाल हल्दिबारी १, साविक गोलधाप ८ मा संचालन गर्न लागिएको उक्त भट्टा गाउँपालिका कार्यालय र वडा कार्यालयको मिलेमतोमा राख्ने काम भएको स्थानीयको आरोप छ। स्थानीयहरुको विरोधका बावजुद उनीहरुको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्नेगरी पेलेर इटाभट्टा संचालन गर्न खोज्दा मुठभेडको खतरा हुन सक्ने देखिएको छ । 

विगत केही महिनादेखि स्थानीयहरु निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका छन् । चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टा, संचालन भने हल्दिबारीमा गर्न लागेका छन्।  हल्दिवारी गाउँपालिकामा दर्ता भएको देखिदैन । त्यसैगरी वातावरण प्रभाव मूल्यांकन पनि गरिएको पाइदैन । तर, संचालकहरुले चारपाने १ मा दर्ता रहेको नमूना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा सो इटाभट्टा खोलेको दावी गरेका छन् ।

त्यस्तै हल्दिबारीमा संचालन गर्नका लागि नमूना इटाभट्टाको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन । नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्यांकनको निहुँ पारेर संचालकहरुले हल्दिबारीमा नमूना इटाभट्टा संचालन गर्न लागेका हुन् ।  बन्द रहेको  उक्त भट्टालाई हाल आएर पुनः संचालन गर्न लागिएको हो । भट्टाको साँध सिमाना भएका सधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरुसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा संचालन गर्न लागिएको स्थानीय हेम गिरीले जानकारी दिए ।

 उनले मानव बस्तीसँगै विद्यालय, अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि विभिन्न निकायमा निवेदन दिएको जानकारी दिए । सधियारसहित २२ जनाले गत असोज १५ गते हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा संचालन हुन नदिन निवेदन दिएका थिए । त्यसअघि उनीहरुले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए । तर, वडा कार्यालय र गाउँपालिका कार्यालयसमेतले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने इटाभट्टा सञ्चालनमा रोक लगाउनेतर्फ चासो नदेखाएको स्थानीयले बताएका छन् । वडा अध्यक्षको समेत मिलेमतो रहेको स्थानीयको आरोप छ। ‘ यतिका वडाबासी विरुद्धमा उत्रिरहँदा उहाँ वास्ता गर्नु हुन्न’ हेम गिरीले भने  ‘भट्टा चलाउनकै लागि लागिपर्नु भएको छ ।’ स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालय र गाउँपालिका कार्यालयले भट्टा संचालकलाई नै साथ दिएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका छन् । 

आफूहरुलाई उठिवास लगाउने गरी खोलिने भट्टा रोक्न आफूहरु जुनसुकै निकायमा जान बाध्य हुने स्थानीय राजकुमार लिङ्खिमले बताए ।  ‘यतिका मानिसहरुको स्वास्थ्यसँग खेलवाड हुँदैछ’उनले भने  ‘हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’ आफूहरु संघर्ष समिति गठन गरी आन्दोलनमा जाने उनले जानकारी दिए। ‘मापदण्ड विपरित भट्टाका सञ्चालकले सबै स्थानिय बासीलाई विस्तारै गाल्दै लाने र अवैध रूपमा भट्टा संचालन गर्ने नजिर बसाल्न खोजिदैछ ।’ उनले भने ।