अर्जुनधारा ।
झापा कचनकबल–२ का उप्रेती परिवारले कालिकापीठले स्थापना गरेको अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
कचनकबल–२ का ओमप्रकाश उप्रेतीको स्मृतिमा उनकी श्रीमती विमला उप्रेती, छोरीहरु अन्जु, सिर्जना र छोरा सुसन उप्रेतीले अर्जुनधारा–९ स्थित कालिकापीठको अक्षयकोषका लागि नगद १५ हजार ५ सय रुपैया हस्तान्तरण गरेका हुन् ।
कालिकापीठमा आयोजित एक कार्यक्रमका बीच दाता परिवारका तर्फबाट अन्जु उप्रेतीले पीठका प्राचार्य आ. रघुनाथ रिजाललाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
२०६७ सालबाट पीठले कालिका संस्कृत विद्यापीठ सञ्चालन गरेर दुर्गा सप्तसती, रुद्री, बेद, ब्याकरण र पुराण आदि ग्रन्थहरुको अध्ययन÷अध्यापन गर्दै÷गराउँदै आएको छ । ब्राम्हण बटुकहरुलाई आवासीय सुविधासहित निःशुल्क रुपमा अध्ययन गराउँदै आएको पीठमा हाल ५१ बढी बटुकहरु अध्ययन गरिरहेको सचिव भोला पोखरेलले बताए ।
विभिन्न दानदाताहरुको सहयोगमा पीठ परिसरमा रहेको अक्षयबृक्षमुनी नवदुर्गा मन्दिर, जयन्तेश्वर शिवालय, सप्तऋषिहरुको प्रतिमासहित हवनकुण्ठ, देवी मन्दिर, नवग्रह मन्दिर, एवं पठन–पाठन र आवासका लागि विद्यालय भवन निर्माण भएका छन् भने गौशाला निर्माण गरी गोवंशको संरक्षण पनि गरिदै आएको सचिव पोखरेलले बताए ।