झापा ।
प्रदेश १ सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम भइरहेको नियुक्तिप्रति पत्रकारका संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै त्यस्तो क्रियाकलाप रोक्न माग गरेका हुन् । प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एकलौटी ढङ्गले भइरहेको नियुक्तिप्रति पत्रकारका संगठनले आपत्ति जनाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ ‘पत्रकारिता जगतमा गलत संस्कार स्थापित हुने हाम्रो निष्कर्ष छ । कानुनतः निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको सरकारले हतार–हतार गरिरहेको यस नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजीरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको हाम्रो ठहर छ ।’
प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न ती संगठनले आग्रह गरेका छन् । नियुक्ति तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न जोडदार उनीहरुले माग गरेका छन् । गलत ढंगबाट भएका यस्ता नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै यस्ता प्रलोभनमा नपर्न सम्पुर्ण श्रमजीवी पत्रकारहरुमा आव्हान समेत गरेका छन् ।
प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समिति संयोजक श्रीशीशा राई, नेपाल प्रेस युनियन १ नं. प्रदेश समिति सचिव धनबहादुर पुरी, समाजवादी प्रेस संगठन प्रदेश नं. १ इन्चार्ज तीर्थ सिग्देल, संघिय उपाध्यक्ष एवम् इन्चार्ज प्रेस मञ्च नेपाल प्रदेश १ कमन देवानले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।