रीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उनले सुझाव दिएका छन् ।  

त्यसैगरी झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्दा  उम्रने सम्भावना रहन्छ ।

धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्ने उनको सुझव छ । नकाटेको धान डुबेको भए चिन्तित हुन नपर्ने उप्रेतीले बताए । नकाटेको धान डुबेको भए पनि पछि झार्दा  धेरै नोक्सान नहुने उनले जानकारी दिए । लगातारको वर्षाका कारण देशका धेरै ठाउँमा धान बाली डुबेको छ ।

कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा दाना नै नलागेको धान ढलेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा  भने त्यसलाई  सुरक्षित गर्न नसकिने धानबाली विज्ञ उप्रेतीको भनाई छ । 

वर्षाका कारण १० देखि १५ अर्ब रुपैयाँ बराबरको धानबाली नोक्सान भएको सरकारले अनुमान गरेको छ । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन ।