- सुदिप गिरी
हल्दिवारी ।
हल्दिबारी गाउँपालिकाले घटनाको डेढ बर्षपछि घाइतेहरुको उपचारको लागि रकम निकासा गर्ने तयारी गरेको खुलासा भएको छ । गत २०७७ असार १० गते गाउँपालिकाको सातौं गाउँसभामा भएको घटनाका घाइतेको उपचारका लागि ७५ हजार रुपैयाँ निकासा गर्ने तयारी भएको बुझिएको हो ।
सातौं गाउँसभामा तथा अधिबेशनमा केहि युवाहरूले सभाहलमा गाउँसभा भईरहेको अवस्थामा बाहिरबाट केहिबेर हुलहुज्जत, नाराबाजीगरी त्यसपछि आलमुनियम पाटेसन, सिसाको बेरा, टेबल कुर्सी, जस्ताको छानालगायतमा लात्ती र मुड्कीले हानि तोडफोड गरेका थिए । तोडफोड गर्ने क्रममा केही ब्यक्तिहरू घाइते भई अस्पताल समेत भर्ना भएका थिए । बाहिर तोडफोड चलिरहेको समयमा गाउँसभा अध्यक्ष रबिन्द्र लिङ्देनले पनि आफ्नो अगाडि रहेको टि–टेबल तोडफोड गरेको घटना सामाजिक सञ्जालहरूमा अहिले पनि देख्न सकिन्छ ।
सो घटनामा सार्वजनिक सम्पतिको तोडफोड भएपछि गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गर्ने र दोषीलाई कानुन बमोजिम कारबाही तथा जरिवाना गराइने बताएका थिए । सो घटनामा अध्यक्ष लिङ्देन भने घाइते भएर उपचारको लागि मेची अस्पताल भद्रपुरमा पुगेका थिए । ज्यानै जानेगरी भएको घटनाको करिब ढेडवर्षपछि दशौं गाउँसभाले उक्त घटनाको घाइतेहरूको उपचार खर्चका लागि ७५ हजार निकासा गर्ने तयारी गरेको छ ।
हल्दिबारी वडा नं. ४ का अध्यक्ष होम चुडाल भन्छन् ‘यो आकस्मिक दुर्घटना हो, उहाँहरूले आफ्नो लागि होइन देश र जनताको हकहितका लागि अध्यक्षलाई ज्ञापन पत्र दिन आउनु भएको रहेछ, आबेगमा आई घटना भईगो जनताको उपचार खर्च गाउँपालिकाले दिने हो, गाउँसभाबाट पास भएको छ ।’
उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउनु सट्टा जनताले पाउने सूचनाको अधिकार लिखित रुपमा माग गर्दा समेत आलटाल गरेर गाउँपलिकाले वेवस्था गरेको छ । गाउँपालिकाले सूचना नदिएर सार्वजनिक सम्पतिको संरक्षणगर्ने÷गराउने दायित्वबाट पन्सिएर सार्वजनिक सम्पतिको तोडफोड गर्नेलाई उपचार खर्च दिन तम्सिएको छ ।
प्रतिनिधिले जनताले दुःखले तिरेको करबाट डेढ वर्षपछि घटनाको उपचार खर्च दिने तयारी गरिनु कतिको उचित होला यो सोचनिय विषय हो । सकिसकेको बिषयमा किन उपचार खर्चका नाममा पैसा निकासा गरेर राज्यको दोहन गरिदै त छैन ? ‘हाम्रो दुःखले मेहनतले, ऋण गरेर भएपनि तिरेको करको पैसाले पार्टीको कार्यकर्ता पाल्नमा जनप्रतिनिधि लागे’ स्थानीय दिपक उप्रेतीले भने ।


















