लक्ष्मीपुर ।
पर्व मनाउँने आ–आफ्नै तरिका हुन्छन् । कसैले वडा दशैं पशुवली दिएर मनाउँछन् त कसैले सामान्य तरिकाले पनि मनाउँछन् । कसैले नाचगान गरेर त कसैले भजन किर्तन गरेर मनाउँछन् । कसैले टीका जमरा लगाएर मान्यजनबाट आशिरर्वाद लिएर मनाउँछन् त कसैले घरघरमा गएर वाजागाजा बजाएर नाचगान गरेर अरुले दिएको दानको केहि रकम सामाजिक काममा खर्चेर पनि मनाउने गर्छन् ।
यसै क्रममा शुक्रवार बडा दशैंको टीका लगाउने दिन झापा अर्जुनधारा–५ लक्ष्मीपुरस्थित विहीवारे बजारमा गौरीगञ्जका ३ जनाले आफ्ना बाउबाजेले मनाउँदै आएको परम्परा अनुसार प्रत्येकका घर–घरमा गएर ‘ढोला बजाउने’ परम्परा अनुसार मनाएका छन् ।
गौरीगञ्जस्थित सुइया घर भएका सुभास माझी, झरीलाल दास र मिठनलाल दासले आफ्नो समुदायमा बजाइने ढोला बजाएर दशैं मनाएका हुन् । उनीहरुले त्यसरी ढोला बजाएर प्राप्त दानको आधा रुपैयाँ उनीहरुका गाउँमा रहेका भजन किर्तन तथा बृद्धाआश्रममा दिने गरेको उनीहरु मध्येका माझीले बताएका छन् । उनीहरुले ३÷४ बर्ष अघिदेखि उनीहरुका बाउबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिएको बताए ।
उनीहरुले यस अघिको दशैमा कोरोना भाईरसका कारण भएको लकडाउनले आउन नसके पनि यस बर्ष उक्त परम्परालाई निरन्तरता दिएको बताए । ‘केहि बर्ष अघिसम्म यसरी हिड्दा माग्ने पेशा भन्थे’ माझीले भने ‘तर, अहिले परम्परा हो भन्ने गरेका छन् ।’ अव प्रत्येक बर्ष आफुहरु दशैलाई यसरी मनाउने र त्यसरी संकलन भएको केही रकम आफ्नो गाउँका सामाजिक संघ÷संगठनमा सहयोग गर्ने माझीले बताए ।
भिडियो पनि