- सुदिप गिरी
हल्दिवारी ।
अहिले हल्दिबारी गाउँपालिका मात्रै नभई देशकै अधिकांश जिल्लामा सिमेन्टका प्रतिमूर्ति स्तम्भ बनाउने होडबाजी नै चलेको छ । हल्दिबारीमा मात्रै करिब १० वटा जति त्यस्ता प्रतिमुर्ति निर्माण भइसकेका छन् । हल्दिवारीका विभिन्न स्थानमा लाखौ रुपैयाँ खर्चेर ठाउँ–ठाउँमा सिमेन्टका प्रतिमूर्ति स्तम्भहरु बनाइएको छ ।
उक्त प्रतिमुर्तिमा बाघ, हात्ती, माछा, परेवा र गौबाछाहरू आदि त्यसैगरी पशुपंछी त्यस स्थानका बिशेषको स्थानीय पहिचान र चिनारी त हो । तर ती पशुपंछीहरूलाई वास्तविक नै तिनीहरूको संरक्षण र सम्बर्द्धन गर्नु भन्दा सिमेन्टका मूर्ति बनाउन जनप्रतिनिधिहरूलाई सजिलो र सरल लागेको देखिन्छ । चोक–चोकमा, सडक–सडकमा सिमेन्टका यस्ता ठूला प्रतिमूर्ति (स्तम्भ) बनाउन आजकल जनप्रतिनिधिहरू बिच प्रतिस्पर्धात्मक रूपमै निर्माण गर्ने होडबाजी चल्ने गरेको पाईएको छ । स्थानीय पहिचान दिने चिजहरूलाई प्रतिकको रुपमा सहि र उचित ठाउँमा राख्नु आफैमा राम्रो कुरा हो ।
तर त्यसलाई निमार्ण गर्ने स्थलको सहि परिचान हुन नसक्नु चाहिँ ठूलो गल्ती जनप्रतिनिधिको भएको प्रष्ट देखिएको छ । हल्दिबारीमा यस्तो प्रतिमूर्ति निर्माणमा न्युनतम एउटा प्रतिमुर्ति स्तम्भ निमार्ण गर्दा पाँच लाखदेखि अधिकतम पन्ध्र लाख रुपैयाँ बढी खर्चहुने सम्बन्धित जानकार बताउँछन् । ‘यस्तो स्तम्भ बनाउने रकम कृषि, उद्योग, सडक, पर्यटकीय स्थल तथा खानेपानी जस्ता विकास निर्माणको क्षेत्रमा लगानी गरेको भए स्थानीय जनता खुशी हुन्थे ।’ हल्दिबारी–४ वडाअध्यक्ष होमप्रसाद चुडालले भने ।
यसरी साघुँरो सडकको बिचमा, स–साना चोकहरूमा जताजतै सिमेन्टका प्रतिमूर्ति बनाउने प्रतिस्पर्धाले ठाउँको परिचान, चिनारी बढाउनु भन्दा पनि दुर्घटना र बजेटको दुरुपयोग भएको हल्दिबारी –३ का स्थानीय गोपाल तामाङको भनाइ छ । ‘यसरी बनाईएका प्रतिमूर्तिहरू(स्तम्भ) निर्माणपछि त्यसको उचित संरक्षण र सम्वर्धनका लागि नत स्थानीय जनताको ध्यान पुगेको छ नत स्थानीय तहको नै ध्यान पुगेको देखिछ ।
प्रतिमूर्ति बनाइएको एक बर्ष नपुग्दै तोडफोड भएको देखिन्छ । यसरी निर्माण गर्नमा होडबाजी गर्ने तर त्यसको उचित संरक्षण र रेखदेखमा ध्यान नदिने जनप्रतिनिधिहरूको स्तम्भ निर्माण मोह किन र के का लागि हो ? भन्ने प्रश्न उब्जाएको छ । यसरी बनिसकेका स्तम्भहरूको संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो । यस्तो दायित्व बोध आम नागरिकमा भएपछि मात्र संरक्षण हुने देखिन्छ । बनिएको प्रतिमूर्ति संरक्षणका लागि स्थानीय तहले उक्त क्षेत्रमा स्थानीयहरुलाई सचेतामूलक कार्यक्रम ल्याउनु पर्ने देखिएको छ ।


















