- उद्धव पुरी
बिर्तामोड ।
झापा बिर्तामोड–३ मा भएको ८ कठ्ठा जग्गाधनिलाई भू–माफिया भनेर केहि सञ्चार माध्यममा समाचार आएकोप्रति उनीहरुले आपत्ति जनाएका छन् ।
जग्गाधनि सरस्वती दकाल र घनेन्द्रदेवी थापाले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेशन गरिदिन आग्रह गरेका हुन् ।
केहिदिन अघि ‘बिर्तामोडमा भू–माफियाको चलखेल जग्गा आफ्नो नाममा भएको भन्दै सुकुम्बासी उठाउने धम्की तथा दमकका दुई महिलाले हत्याए सैनिक मोडका जग्गा’ भन्ने शिर्षकमा पत्रिका र अनलाइनमा समाचार प्रकाशन भएको थियो । उनीहरुले व्यवसायी लक्ष्मण बस्नेतलाई समेत जोडेर जग्गाधनि महिलाहरुलाई अपमान हुनेगरी एकलौटी ढंगले भू–माफिया जस्तो तुच्छ शब्द प्रयोग गरी दुष्प्रचारप्रसार तथा समाचार प्रकाशित गरेकोप्रति जग्गाधनि महिलाहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
हाल बिर्तामोड नगरपालिका–३ मा रहेको कित्ता नं. ५७७ सरस्वती ढकाल र घनेन्द्रदेवी थापाको संयुक्त नाममा रहेको बताएका छन् । २०४७/०२/२५ गते जग्गाधनि अनुपकुमारी लिम्बुका नाममा कायम रहेको जग्गा सरस्वती ढकाल र घनेन्द्रदेवी थापाको नाममा राजिनामा पास भएको उनीहरुको श्रेष्ताले देखाउँछ । उक्त जग्गा मालपोत कार्यालय तथा नापी कार्यालय भद्रपुरको श्रेस्ता अभिलेखमा उनीहरुकै नाममा कायम रहेको उनीहरुले बताएका छन् ।
आफ्नो जग्गा चारकिल्ला कायम गर्ने विषयमा २०७८/०६/१६ गते नापी कार्यालयमा निवेदन दिई अमिन आएर नापजाँच गरेको पत्रकार सम्मेलनमा जग्गाधनि ढकालले बताइन् । उक्त जग्गा सुकुम्बासी, वा अरु कसैको नामको तथा श्रेष्ताको नभएको उनीहरुले दावी गरेका छन् ।
पत्रकार सम्मेलनमा आफन्त ओमनाथ मैनालीले उक्त जग्गाको मालपोत स्थानीयतहमा बुझाउन जाँदा नलिने गरेको बताए । उनले जसलाई भू–माफिया भनेर समाचार लेखिएको छ उनीहरु भाडाको घरमा बस्दै आएको बताए । उनले सो जग्गामा ५० घर सुकुम्वासी भनिएर प्रचारप्रसार गरिएको भएपनि १० घर सुकुम्वासी मात्र रहेको जानकारी दिए । ‘जग्गा एउटाको बेच्ने र बस्ने अर्को’ मैनालीले भने । जग्गाधनिले न्याय नपाए अदालतसम्म जान पछि नपर्ने उनीहरुले बताएका छन् ।