• सुदीप गिरी

 हल्दिबारी ।

३ करोड ९० लाख ७९ हजार ३ सय ३ रुपैयाँ ४० पैसाको लागतमा निर्माणाधीन हल्दिबारी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको  हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले जानकारी दिएका  छन् ।    हल्दिबारी–५ धनुष पोखरी आसपासको क्षेत्रमा स्थानीय दाताले एक विगाह १० कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएपछि गाउँपालिकाको प्रशासनिक भवन अहिले निर्माणाधीन अवस्थाको अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन गाउँपालिकाको भवनको करिव ९० प्रतिशत काम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष गिरीले बताए । २०७६ साल जेठ १ गते किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङ्ग कम्पनी सुकेधारा काठमाडोंले भवन निर्माणको ठेक्का लिएको थियो ।२०७६ जेठ १६ गते बिहिबार दिन हल्दिबारीका जनप्रतिनिधिहरूले सामुहिक रूपमा भवनको उद्घाटन गरेका थिए । भवन निर्माणको मिति २०७६ चैत्र ३०मा सक्नु पर्ने भएता पनि कोभिड १९ को बढ्दो संक्रमणका कारण निर्माणको काम सम्पन्न हुन नसकेको गाउँपालिका उपाध्यक्ष गिरीले बताए ।

dambar giri

आगामी कार्तिक महिना भित्रै गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने गरी तयारी भइरहेको छ। उपाध्यक्षले भने– ‘ऐतिहासिक महत्व बोकेको धनुष पोखरीको संरक्षण र गाउँपालिकाको प्रशासनिक भवन निर्माण एकैपटक सम्पन्न हुँदैछ ।’ गाउँपालिकाको प्रशासनिक भवन नहुँदा अहिले पनि गाउँपालिकाको काम भाडाको घरबाट सञ्चालन भईरहेको उनले बताए ।  ‘अब केही दिनभित्रै गाउँपालिकाको भवन निर्माण सम्पन्न हुन्छ, उपाध्यक्ष गिरीले भने, ‘हामीले निर्माण गरेको भवन छुट्टै मोडालिटीको छ।’

‘सेवाग्राही सेवा लिन आएपछि एउटै हाताभित्रबाट सबै सेवा एकै पटक लिन सक्छन्’ उपाध्यक्ष गिरीले भने ‘ त्यही डिजाइनमा हामीले भवन निर्माण गरिरहेका छौं,  जनप्रतिनिधि बस्ने छुट्टै भवन हुन्छ, बाँकी कर्मचारीका लागि सेवा प्रवाह गर्न एकै ठाउँबाट मिलाइन्छ ।’ यहि मंसिर महिनाबाट गाउँपालिकाले आफ्नै भवनबाट कार्य सञ्चालन गर्ने तयारी गरिरहेको उपाध्यक्ष गिरीले बताए। गाउँपालिकाको भवन निर्माण गर्दा ऐतिहासिकतालाई समेत मध्यनजर गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको र भवन भूकम्प प्रतिरोधी रहेको बताइएको छ ।

haldibari-bhawan

उपाध्यक्ष गिरीका अनुसार भवन व्लक÷व्लक सिस्टममा तयार गरिएको हो ।  भवनमा सातवटा व्लक रहेका छन् । जसमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, मिटिङ हल, प्रशासनिक भवन, धनुषपोखरी आकारमा निकाल्न अन्य व्लक बनाइएको छ भने क्यान्टिन हल समेतसँगै रहेको छ । द्वार एक, सेवा अनेकको अवधारणामा तयार गरिएको यो भवन प्रमुख प्रशासकीय अधिकृतको कोठामा प्रवेश गरेपछि सवै सेवाग्राहीको काम सम्पन्न नगरुञ्जेल वाहिर निस्कनु पर्दैन ।

सवै सेवा भित्रैवाट हुन्छ । करिव ५ सय जना मानिस अटाउन सक्ने गरी प्रशासनिक भवन बनाइएको छ। धनुष आकारमा तयार गरिएको हो । ऐतिहासिकताको आधारमा निर्माण गरिएको यो भवन निर्माण सम्पन्न भएसंगै यसले छुट्टै महत्व राख्ने उनको भनार्इ छ ।