झापा ।

झापामा जङ्गली हात्तीले सुँडले प्यापेर वनभित्र लगेको महिला मृत भेटिएकी छिन् ।   बिर्तामोड नगरपालिका– ८ स्थित नेपाल चोकका  शुकलाल मर्डीकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी  मृत फेला परेकी  प्रहरी कार्यालय झापाले जनाएको छ ।

  हात्तीले सुँडले च्यापेर जङ्गलमा लगेको लतुमाईको शव चार घण्टापछि चन्द्रगढी सामुदायिक वनभित्र रहेको सेती खोलाको पैनीमा भेटिएको प्रहरीले जनाएको हो। हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको थियो । 

बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका– १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन भित्र  निगुरो टिप्न गएकी मर्डीलाई हात्तिले सुँडमा च्यापेर वन भित्र लगेको थियो ।  । 

श्रीमतीलाई हात्तिले लगेको श्रीमान शुकलाल मर्डीले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । त्यसपछि महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल भित्र गएका थिए ।  खोजीकै क्रममा मर्डीको शव भेटिएको जनाइएको छ ।