मेचीनगर ।
अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले काँकरभिट्टाबाट एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु (पास्टर) सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौँ लगिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
फेसबुक र ह्वाट्स एपमार्फत विदेशीको हुलियामा च्याट गरेर क्षेत्रीले ५ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । संखुवासभा घर भएकी एक महिलालाई क्षेत्रीले ‘युकेबाट पार्सल पठाएको छु, रिसिभ गर्नू’ भनेर काठमाडौँमा जान आग्रह गरेका थिए ।
काठमाडौँ आएपछि भन्सार तिर्न पाँच लाख लाग्छ भनेर उनले पोखरा र काँकरभिट्टाका दुईजना महिलाको खातामा पैसा हाल्न लगाएका थिए । पार्सलमा ‘विदेशी पैसा पनि रहेछ’ भनेर थप पैसा मागेपछि ती महिला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।
यसैबीच, बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी गर्ने इलाम माई नगरपालिका–४ बस्ने २८ वर्षीय कुमार मगरलाई धनकुटाबाट पक्राउ गरि बिर्तामोड ल्याइएको छ ।
श्रेष्ठको कोठाबाट मगरले असोज १ गते चोरी गरेका थिए । चोरी गरी फरार रहेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए । सोही क्रममा खोजी गर्दा धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।
धनकुटाको सहिदभूमि गाउँपालिका–७ बस्ने ४८ वर्षीया सावित्रा मगरको साथबाट चोरी गरेको नगद रकम ३ लाख ३५ हजार र चोरी गर्ने कुमार मगरको साथबाट ६३ हजार फेला पारी दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बिर्तामोड ल्याइएको छ । जिल्ला अदालत झापा मार्फत म्याद थप भई अनुसन्धान कार्य सुरु गरिएको अनारमनी प्रहरीले जनाएको छ ।