मेचीनगर ।

मेचीनगर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले मरणोपरान्त सम्मान पाएका छन् । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्दा उपसचिव खाम्याहाङलाई प्रवल जनसेवाश्री सम्मान दिने निर्णय गरेको हो ।

कोरोना भाइरसबाट खाम्याहाङको गत जेठ ३ गते बिर्तामोडको बीएन्डसी अस्पतालमा निधन भएको थियो । मेचीनगरमा रहँदा खाम्याहाङले देखाएको कुशल कार्यसम्पादन सम्झनालायक छ ।

इलाम नगरपालिकाबाट मेचीनगर हुँदै अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला संक्रमण देखिएपछि उनको निधन भएको थियो । माम्लिङ गाउँपालिका–४, संखुवासभाका खाम्याहाङ कुशल प्रशासकको रुपमा चिनिदै आएका थिए ।