पर्वत ।
निर्माण व्यवसायीको लापर्वाही र गलत डिजाइनका कारण ४ बर्षदेखि निर्माणधिन पुल अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहो । फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल अलपत्र अवस्थामा रहेको छ ।
स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपूरै छ । प्राविधिकको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो । पच्चीस मिटर लम्बाइको उक्त पुल पाँच करोड ६४ लाख रुपैयाँमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।
कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयवासीले विरोध गरे पनि इञ्जिनीयरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं २०७४ को अन्त्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले तीन वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।