संखुवासभा ।
संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् ।
कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागि संघिय प्रहरी ईकाई कार्यालय धरानबाट कुकुरसहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली समेत परिचानल भएको थियो ।
घटनाको सुक्ष्म तथा गहन अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई थप सहजताको लागी अनुसन्धानको नेतृत्व गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी.सहितको अनुसन्धान टोलीले सामुहिक हत्यामा संग्लग्न रहेका कार्कीलाई घटना भएको छैटौ दिनमा पक्राउ गरी प्रदेश प्रहरी प्रमुख सहितको उपस्थितीमा आज (आइतवार) ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
पक्राउ परेका कार्की बैदेशिक रोजगारीको शिलशिलामा पटक पटक बिदेश गएता पनि स्थास्थ्यमा समस्याभएपछि घर फर्कीएका थिए । बिदेशमा रहदा केही कमाउन नसकेकोप्रति हिनताबोध भई समय समयमा बिक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोश आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
लोकबादुरका काकासमेत रहेका मृतक तेजबहादुर कार्कीले समय समयमा उनलाई सम्झाउने गर्दै आएका थिए । घटना भएको दिन बिहान मृतक तेजबहादुर कार्की लोकबहादुरको घरमा खेताला भन्न गई फर्कने क्रममा उनले बिगतमा आफुलाई सम्झाई बुझाई गरेको कुरालाई गाली गलौजको रुपमा लिएर आवेशमा आई नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडी प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेका छ । चिर्पटले प्रहार भए पश्चात हार गुहार गर्दा श्रीमती र बुहारी समेत घटनास्थलमा पुगेकोपछि उनीहरुलाई समेत प्रहार गरेको उनले स्वीकारेका छन् ।
साथै घर नजिक बाटोको डिलमा रहेका दुई जना नावालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरी घरमा रहेकी पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरेको उनले सनुसन्धानका क्रममा बताएका छन् । घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुल्न आएको छ । शुरुमा तेज बहादुरको हत्या गरेका उनले घर परिवारका अन्य सदस्यले समेत देखेकाले घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।