सुनसरी । 

 ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले  सरकारी छाप तथा  दस्तखत किर्ते गरि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर –४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका –५ तल्लो देउराली दिपक लिम्वुको घरमा डेरा गरी बस्ने ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् ।

आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनि प्रलोभन देखाई सर्वसाधरणलाई ठगी हिड्दै गरेका थिए । उनले ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम माग समेत गर्ने गरेका थिए । 

लेनदेन प्रकृतिको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो । प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान १, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप थान १ थान, गोप्य लेखेको रवरको छाप थान १ थान,  जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान १ थान,  नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप थान १ थान,  प्रहरी निरीक्षक लेखेको रवरको छाप थान १ थान,  उपसचिव लेखेको रवरको छाप थान १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान १ थान,   लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान १ थान,  शाखा अधिकृत लेखेको छाप थान १ थान,  लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु फेला  गरेको छ ।

पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।