झापा । 

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ ।  तीज तथा हरितालिका भन्ने वित्तिकै हामी सवै महिलाको पर्व भनेर चिन्छौ । तिजको आफ्नै विशेषता छ । तीज प्रत्येक बर्ष आउने एक महिलाहरुको महान पर्व पनि हो । 

यो पर्वमा विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।  यो दिन महिलाहरुले बर्षदिनभर भएका दुःख पीडालाई भुलेर नाचगान गरेर मनाउने गरेका छन् ।  पछिल्लो समय तीजको रुप परिवर्तन हुँदै गएको छ । पछिल्लो समय तीजलाई तडक भडक तरिकाले मनाउने प्रचलन वढेर गएको छ । एक महिना अघिदेखि तीजको वहानामा आफ्ना गरगहना, कपडा प्रदर्शन गरेर नहुनेलाई देखाउने परम्परारा वढेर गएको छ । त्यस्तै सामुहिक रुपमा मनाइने तीजले पनि तीजको महत्व घट्दै गएको छ । यस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ । यस्ता विकृति रोकिनुपर्नेमा जोड दिदै आएपनि त्यो अहिलेसम्म रोकिनुको सट्टा झन् वड्दै गएको पाइन्छ । 

परपूर्वकालमा शिवजी पति पाउँ भनि पार्वतीले ब्रत वसेकी थिइन् भन्ने भनाई छ ।  तीजको ब्रत महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि बस्ने बुझाई छ । यो ब्रत बस्दा महिलाले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर पाउने शास्त्रीय भनाई छ ।   भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास पनि छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा  व्रत शुरु भएको पौराणिक मान्यता छ । पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाएपछि   उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरकी विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आज झापाका विभिन्न स्थानका भगवान शिवका मन्दिरमा स्वास्थ्यका मापदण्ड पूरा गर्दै तथा घर–घरमा पूजा आराधना गरी पूजा गरिदै छ ।