बिर्तामोड ।  

नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी रहेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए । तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले औचित्य माथि प्रकाश पार्दै विषयवस्तु प्रस्ट्याएका थिए ।

दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता छ । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले पत्रकारितामा नकारात्मक मात्र लेख्ने र पार्टी पत्रकारिता मौलाएको गुनासो गरे । नकारात्मक मात्र लेखेर कसैलाई खुइल्याउने भन्दा पनि लेखन तथ्यपरक हुनुपर्ने र स्थानीय सरकारका सकारात्मक कार्यहरु पनि सञ्चारमाध्यममा उत्तिकै प्राथमिकतामा पर्नुपर्ने शिवाकोटीले बताए ।

दमक नगरपालिकाका मेयर ओलीले स्थानीय सरकारको ठूलो जिम्मेवारीसँगै त्यहाँभित्र धेरै सवालहरु विद्यमान रहेको तर त्यस विषयमा मिडियाको उचित ध्यान नपुगेको बताए । ओलीले खोजमूलक पत्रकारितामा जोड दिँदै तथ्यपरक र सकारात्मक विषयवस्तु पनि उजागर गरिदिन आग्रह गरे ।  

कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाईले संस्थाको गतिविधि र पत्रकार महासंघसँगको सहकार्यबारे प्रस्ट्याएका थिए । तालिममा शेयरकास्टकी रिसर्च अफिसर ओसिन राईको पनि सहभागिता छ ।