बिर्तामोड ।
चौतर्फी विरोध भएपछि सडक पेटीमा थुप्रिएको फोहोर उठेपनि फोहोर व्यवस्थापनको लागि बिर्तामोड नगरपालिकाकाले दीर्घकालिन रुपमा ठोस निर्णय गर्न सकेको छैन ।
करिव दुईसाता अघि फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान खोज्न नगरपालिकाले सर्वदलिय बैठकबाट फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति गठन गरेको छ । वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाको संयोजकत्वमा बनेकोे सो समितिले अहिलेसम्म कुनै ठोस काम गर्न सकेको छैन ।
नगरपालिकाले गत असारदेखि काठमाडौको निराकर सरसफाई उपभोक्ता समितिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको थियो । निराकारलाई ठेक्का दिएर डम्पिङ साइट खोज्न अलग्गै समिति बनाएपछि समस्या थप पेचिलो बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । ‘नगरपालिकाले निराकरसँग ठेक्का संम्झौता गर्दा डम्पिङ साइटको व्यवस्था गरिदिने भनेकाले समस्या भएको हो’ स्थानीय एक नेता भन्छन् ‘ठेक्का एउटालाई दिने अनि डम्पिङ साइटको व्यवस्था गर्न सर्वदलिय समिति बनाउने कुरा आफैमा उदेक लाग्दो छ ।’ फोहोर नउठाउँदा सडक किनार दुर्घन्धित भएपछि नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नो निजि जग्गामा फोहोर फ्याक्ने निर्णय गरेपछि तत्कालका लागि समस्या समाधान भएको छ । तर, यथाशिघ्र डम्पिङ साइटको व्यवस्था नगर्ने हो भने फेरीपनि बिर्तामोेड फोहोरमा पुरिने अवस्था छ ।
यसअघि डम्पिङ साइटको अभावमा नगरपालिका परिसर भित्रै फोहोर पुरिएको थियो । फोहोर व्यवस्थापनका लागि जग्गा नभेट्दा समस्या भएको नगर प्रमुख शिवाकोटी बताउँछन् । ‘हामीले फोहोर विसर्जनका लागि धेरै ठाउँमा जग्गा खोज्यौ, तर जग्गा कहिँ उपलब्ध भएन’ । भाडामा खोज्दा पनि र किन्न खोजदा पनि जग्गा नपाएको उनको भनाई छ ।
समितिका सचिव मेघराज वास्तोलाले डम्पिङ साइटका लागि ठाउँको खोजी गर्ने कार्य भइरहेको बताए । ‘बिर्तामोडमा सरकारी स्वामित्वमा रहेका खाली जग्गा नभएका कारण डम्पिङ साइटका लागि जग्गा अभाव भएको हो ’ उनले भने ‘हामी व्यस्वाथापन गरेर फोहोरमैला विर्सजनको दीर्घकालन समाधान खोज्ने कार्यमा जुटेका छौ ।’ बिर्तामोडको फोहोर व्यवस्थापनमा आम नगरवासीको भुमिका महात्वपूर्ण हुने उनले बताए ।